श्रीमतिलाई जन्मदिनमा नेकपा नेता काङमाङको भावुक पत्र

  अजम्बर काङमाङ राई  926 पटक हेरिएको

श्रीमति कुमारी राईसँग अजम्बर काङमाङ राईको पुरानो फोटो। फोटोको मिति खुलाइएको छैन। तस्विर: काङमाङको फेसबुक पोष्टबाट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अजम्बर काङमाङ राईले आफ्ना श्रीमती कुमारी राईको जन्मोत्सवको अवसरमा विहीबार (२७ चैत) भावुक पत्र लेखेका छन्। उनले आफ्नो फेसबुक पेजमा पत्र सार्वजनिक गर्दै वैवाहिक जीवनका आरोह/अवरोहबारे लामै विस्तार लगाएका छन्। नेकपा खेलकुद विभाग ईन्चार्जसमेत रहेका काङमाङले ‘कुमारी तिमी मेरै लागि जन्मिएकी रहेछौं’ शीर्षकमा श्रीमतीलाई लेखेको पत्र प्रस्तुत छः

रतन्छा गैह्री टोल, खोटाङबाट घोडा माथि चढाएर, मेरो अघि–अघि लगाएर, टेम्केको चिमालेभञ्याङ कटाएर दिल्पा नागी चारघरे भोजपुरमा भित्र्याएको पनि एक बीसा तीन वर्ष बितिसकेछन्, कुमारी। सुख, खुशी र सफलताका क्षणहरू सम्झदा आँखाको एकै झिम्काइजस्तो छोटो र दुस्ख, बेखुशी र असफलताका क्षणहरू सम्झदा तातो कराहीमाथि नाङ्गो पाइतालाले टेकेर यतिका वर्ष कसरी बिताएँ होला भनेर अत्यास लाग्छ। जीवन र जगतमा जस्तै वैवाहिक जीवनमा पनि विरोधी तत्वहरूको एकता र संघर्षका द्वन्द्ववादी नियम लागू हुँदो रहेछ। सायद यही नियमले वैवाहिक जीवनको रथ गुड्दो हो, खटखट खटखट!

सधैं समाचार लागि Click on 'Like'

गोसाइकुण्डबाट भर्खरै झरेको त्रिशुलीजस्तो वेगवान् म र देवघाटको जस्तो गहिरो र फराकिलो त्रिशुली तिमी, मुल एउटै अनि कुल एउटै। वेग मारेर बग्नु म हुनुको पर्याय, गहिरिनु र फिजिनु तिम्रो पर्याय। भिन्न स्वभाव तर एकाम्यता। वेगैवेगको धापले म, राजनीतिक रूपमा रणवन चाहरिहिँड्दा तिमी मूलघरमै बस्यौं, म फर्किएँ। मेरो हार होइन, जीत तिम्रो भयो।

थोपाथोपाको सञ्चय गर्ने तिम्रो बानी सुरु–सुरुमा कन्जुसजस्तो लाग्थ्यो। हाम्री आमा स्व.कितापश्वरी राई काठमाडौं आउनु हुँदा भन्नु पनि हुन्थ्यो, ‘तिमीहरूको ताल हेर्दा त के बस्नु हौं। लुटी ल्यायो, भुटी खायो।’ वर्ष दिनभरि खानेकुराहरू टन्नै भण्डारण गरेर नागीमा ढुक्कले बस्न अभ्यस्त आमालाई सहरीया जीवनशैलीले उकुसमुकुस हुन्थ्यो। ललितपुर ताल्छीखेलको भूइँतले दुई वटा कोठामा हामीले दुःखका पन्ध्र वर्ष सजिलै कटायौं। सञ्चय गरेरै अहिले एउटा छानो हाल्न सम्भव भयो। सबैले कमाउँछन्। जितुवा ‘जमाउने’ हुन्छ। तिमी जितुवा हौं, चाम्लिङ्मा।

आमाकै सामाजिकीकरणका कारण म खानेकुरामा कहिल्यै नाकनिक गर्दिनँ। विवाहपछि पनि कहिल्यै गरिनँ र गर्दिनँ पनि। मासुको अलि पारखी भने हुँ। मांस भक्षण र खानपिनबारे तिम्रो आदर्श वाक्य सधैं सम्झिरहन्छु वालेम्रुङमा, ‘सधैं खाने बुढा, सबै खाने बुढा!’ तिम्रै कारणले म रोगमुक्त छु। तिमी मेरो निजी चिकित्सक हौं। तिमी मेरो डाइटिसियन हौं।

सामाजिक हुने लोभमा बियरबाट सुरु भएको मेरो मदिरा यात्रा ह्विस्कीसम्म पुग्यो। होटल ह्यातको एउटा कार्यक्रममा म असामाजिक हुने गरी पिएर ट्याक्सीमा ताल्छीखेल फर्किदा तिमीले गरेको छिःछि र दुरदुर सम्झिँदा अहिले पनि मन कटक्क खान्छ।

मध्यपानबाट टाढा र लगभग घृणै गर्ने मेरो बानीमा थुप्रै पारिवारिक भेटघाट र भोजहरूमा पनि म मदिरामुक्त भएको देखेर तिमीले भन्यौं, ‘सोसल ड्रिक त गर्नुपर्छ। बियर त खानुस्।’

सामाजिक हुने लोभमा बियरबाट सुरु भएको मेरो मदिरा यात्रा ह्विस्कीसम्म पुग्यो। होटल ह्यातको एउटा कार्यक्रममा म असामाजिक हुने गरी पिएर ट्याक्सीमा ताल्छीखेल फर्किदा तिमीले गरेको छिःछि र दुरदुर सम्झिँदा अहिले पनि मन कटक्क खान्छ।

त्यस दिनदेखि एउटा शिक्षा पाए कि प्राय: सबैका श्रीमतीले आफ्ना लोग्नेले नपिएकै राम्रा मान्दा रहेछन् र पिइहाले पनि असामाजिक नहुने गरी मात्रै। नत्र सामाजिक हुन बियर खान आफैंले उक्साउने श्रीमतीले यसरी छिःछि दुरदुर नगरी बुढोलाई गेटसम्मै आएर कोट खोलिदिनु पर्ने होइन ररु त्यस दिनदेखि मैले कहिल्यै असामाजिक हुने गरी पिएको छुइनँ, पिउदिनँ भनेर ‘सुप्तुलुङ’ पनि छोएको छुइनँ।

हाम्रा बाबा स्व। सूर्यधन राईको हामीप्रति दुईवटा सपना थिए, एक, छोराबुहारीबाट नाति नातिनी होस् र दुई, राजनीति गर्ने छोराले सार्वजनिक पद धारण गरोस्। बाबाका दुवै सपना अपूरै रह्यो, बाबालाई मट्टी दिनुपर्यो। हुन त हामी पनि ‘क्रस लेग स्ट्राइक’ गरेर बसेका कहाँ थियौं र बाबा! बन्दाबन्दी (लकडाउन) गरेर बसेका पनि थिएनौं नि बाबा! तर, के गर्नु आधुनिक चिकित्सा प्रविधिका उपलब्ध सबै सेवासुविधा देश विदेशमा लिँदा पनि तपाईंलाई कोपा बनाउन असमर्थ भयौं बाबा! सो सरी बाबा!

सालीकी छोरी ज्योति चाम्लिङ राईलाई देखाउँदै आमाले भन्नुहुन्थ्यो, ‘तिमीहरूले पनि एउटी धर्मपुत्री बनाएको भए ज्योति जत्रै भइसक्थी।’ आमाको कुरामा कुमारी पनि सहमत नै है। वंश विस्तारको पुरुष अहंसहित म भन्थेँ, ‘हैट! अर्काको बाच्छो चाट्नु, मुखभरि रौं।’

एकदिन डराई–डराई कुमारीलाई ‘सरोगेसी’ विधिबाट एउटा बच्चा बनाऔं न त भनेँ। देवघाटकी त्रिशुली कुमारी त रसुवाका त्रिशुलीजस्तो गड्गडाउँदै मेरो नाकको दुवै पोरामा चोर औंला झन्झन्डै घुसारिदिन खोज्दै उग्र रणचण्डीको रूपमा यस्तो पो आदेश आयो गाँठे, ‘ए! अझै तपाईं मेरो कमजोरी देखाउँदै हुनुहुन्छ? सरोगेसीको कुरा गरे जीवन बीमा गर्नू।’ लगलग काँप्दै मैले ‘हवस्’ भनेँ।

ए, साथीभाइ हो! बुढीसँगै सुत्दासमेत मलाई पनि हेल्मेट लगाउन त मन छैन नि। होइन र?

तिमी कति वर्ष पुग्यौं? यो मेरो प्रश्न होइन। हामीले बिताएका वैवाहिक जीवन स्वर्णिम छन्। जीवनलाई रसपूर्ण/अर्थपूर्ण बनाउन र खुशीको बहार त आफैले ल्याउने हो। ल्याइरहेकै छौं। मोतीका दानाको उपहार त पहिल्यै टक्राएकै छु, आज कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनमा बसेको बेला बहुमूल्य ‘शब्दको माला उने’ हाम्रो विवाह र हाँसको टिउरा भएको टिसर्ट ओढेको रोमाञ्चकारी क्षण सम्झिँने तिम्रो त्यो फोटो उपहारमा समर्पण गरेर कुमारी तिमीलाई भन्न चाहन्छु, ‘तिम्रो जन्म दिनको धेरै–धेरै शुभकामना!’

सुयोग्य छोरीलाई मजस्तो ‘मछा’लाई सुम्पने सासु स्व. सुनसरी राई निनाम्बुङमा, ससुरा रविसोर राई वालेम्रुङ र जेठान सागरकुमारलाई भूइँ सोहोरी हौवा।

प्रेमपूर्वक भाषामा तिमीलाई मैले र मैले तिमीलाई पुकार्ने छद्म नाम छ, जो हामीमा मात्रै सीमित छ। आज तिमीलाई मैले पुकार्ने सो मायालु शब्द सार्वजनिक गरिदिन्छु। म त चंगा हुँ, तिमी लट्टाई। बतासिँदै जतिसुकै अकासिए पनि अन्ततस् तिम्रै लट्टाइमा फर्कन्छु है। लट्टाइ राम्ररी समात है ‘मट्याङ्ग्री!’

कुमारी तिमी मेरै लागि जन्मिएकी रहेछौं!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार