अशोक राईमाथि फतुरको शृङ्खला-१

  सुकदेव चामलिङ  4207 पटक हेरिएको

भर्खरै समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको छ। एकीकरणपछि जनता समाजवादी पार्टी बनेको छ। यसको चुनाव चिह्न खुलेको छाता रहनेछ। रातो र हरियो पृष्ठभूमिमा एक तारा अंकित झन्डा हुनेछ। यहाँ जनता समाजवादी पार्टीको एकीकरण पृष्ठभूमिबारे चर्चा गर्ने उद्देश्य होइन। यद्यपि, एकीकरणपछि उठेका केही सवालबारे यहाँ चर्चा गर्ने जमर्को अवश्य हो। विशेषगरी नेता अशोक राईबारे उठेका सवालबारे चर्चा गर्नु लेखको उद्देश्य हो।

तत्कालीन एमाले परित्याग गरी संघीय समाजवादी पार्टी गठनदेखिनै अशोक राईबारे फतुर सुरु भएको हो। अहिलेको एकीकरणसम्म आईपुग्दा पनि त्यसखाले फतुरको शृंखला चलिरहेको छ। परिस्थितिसँगै फतुरको भाषा बदलिएको तर नियत उहीँ छ, जसरी पनि अशोक राईलाई होच्याउने र खिस्याउने।

सधैं समाचार लागि Click on 'Like'

तत्कालीन संघीय समाजवादी गठन गर्दा राईमाथि जातीय पार्टी गठन गरेको फतुर पुरानो एमालेका उच्चतहबाट जारी भएको हो। यसपछि यसले संस्थागत रुपमै संघीय समाजवादीलाई हेर्ने एमालेको धारणा पार्टी पंक्तिमा विकसित भयो। र, जातीय पार्टी नै रहेको पुस्टि गर्न एमालेले सबैखाले उपलब्ध मञ्च, माध्यम र तरिका अपनाएको थियो।

एमालेको त्यसखाले फतुरबाट कार्यकर्ता पंक्ति सम्मोहित नहुने कुरै थिएन। सँगसँगै जनतापनि दिग्भ्रमित हुँदै गइरहेका थिए। र, संघीय समाजवादीको अभियानलाई हेर्ने जनदृष्टिकोण पनि संकुचित बन्दै गइरहेको थियो। एमालेले कतिसम्म सर्वसाधारणलाई दिग्भ्रमित बनाएको थियो भन्ने कुरा त उदयपुरमा एक बाहुन परिवारसँग अशोक राईको भेटले पुस्टि गर्दछ।

उदयपुरमा अशोक राई पार्टी गठन तथा विस्तार अभियानका क्रममा पुराना चिनजानका बाहुन परिवारसँग भेट्न गएका थिए। त्यहाँ पुग्दा ती बाहुन वृद्धले अशोक राईलाई भनेको कुरा उदेकलाग्दो थियो। उनले अशोक राईलाई भनेका थिए, ‘अशोकले त एमाले छाडेर जातीय पार्टी खोलेको छ भन्ने हल्ला छ। अब बाहुन क्षेत्री लखेटेर जातीय राज्य बनाउने रे भनेर एमालेका स्थानीय नेताहरुले सुनाएका छन्। खास कुरो के हो?’

यसपछि अशोक राईले ती वृद्धलाई सम्झाईबुझाई स्पष्ट पार्नु परेको थियो। यसरी एउटा परिवार र व्यक्ति त अशोक राईबाट आश्वस्त भए। तर, सिंगो मुलुकलाई एमालेबाट जारी फतुरबाट आश्वस्त बनाउनु चुनौतीपूर्ण थियो। किनभने मूलधारका मिडियादेखि हरेक क्षेत्रमा एमालेको प्रभाव बढी थियो।

यसका बाबजुद सकेसम्म त्यसखाले भ्रम चिर्ने कोशिसमा पार्टीपंक्ति एकढिक्का भइरहेका थिए। मिडिया हाउसहरुभित्र पनि संघर्ष भइरहेका थिए। उनीहरुले संघीय समाजवादीको समाचारलाई प्राथमिकता नदिएपनि कम्तीमा नकारात्मक समाचार र विचार नदिऊन् भन्नेमा तत्कालीन संघीय प्रेस युनियन पनि लागिरहेकै थियो।

यस्तैमा दोस्रो संविधानसभा निर्वाचनको मिति आयो। पार्टी गठनको एक वर्षमै निर्वाचनमा होमिँदा अपेक्षित मत परिणाम आउन सकेन। यसका बाबजुद पनि संघीय समाजवादीले समानुपातिकतर्फ ५ सिट प्राप्त गरेको थियो। यहीँ सिट पनि नपाउने नेताले पार्टी छाडे। तर, मुद्दामै केन्द्रीतहरुले चट्टानी अडानका साथ पार्टीलाई मजबुत बनाउन प्रयासरत् रहिरहे। यद्यपि, संघीय समाजवादी र यसका कमाण्डर अशोक राईमाथि लागेको आरोप अझै कायमै थियो।

रातोपाटीका लागि अन्तर्वार्ता लिँदै रमण पौडेल। तस्विरः सुकदेव चामलिङ

यहीँ पृष्ठभूमिमा मधेस केन्द्रीत दल तत्कालीन मधेसी जनाधिकार फोरमसँग एकताको चर्चा सुरु भयो। र, एकता भयो पनि। यस एकतामा अशोक राईले आफूभन्दा जुनियरलाई नेता मान्न तयार भए। किनभने उनको एउटै फोकस विद्यमान राजनीतिक दलहरुले उत्पीडित जाति, समुदाय, क्षेत्र र लिंगलाई मुक्ति दिन नसक्ने भएकाले वैकल्पिक पार्टी निर्माण गर्ने थियो। यसैले सहजै राजनीतिमा आफूभन्दा जुनियरको नेतृत्व स्वीकारेर वैकल्पिक पार्टीको आधार तयार गरे।

तर, यसपछि अशोक राईमाथि फतुरको शृंखला रोकिएन। उहीँ पुराना एमालेबाटै अशोक राईमाथि मधेसीसँग आत्मसमर्पण गरेको फतुर सुरु भयो। र, पहाडतिर अशोक राईले मधेसीलाई नेता मानेको भ्रम छरिदिए। सँगसँगै, मधेसी नेतालाई अशोकले बोकेर पहाडतिर छिराएको फतुर सर्वत्र फिँजाए। यसको असर ७४ सालमा भएका तीनै तहको निर्वाचनमा देखियो।

यति हुँदाहुँदै फेरि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण भयो। यसमा पनि अशोक राईले कुनै पदको लालच देखाएनन्। दुई जना अध्यक्ष बनिरहँदा अशोक राईले पुरानै वरिष्ठनेतामै चित्त बुझाएर बसे। किनभने उनको एउटै उद्देश्य विद्यमान राजनीतिक दलहरुको विकल्पमा नयाँ शक्ति निर्माण गर्नु थियो/छ।

अहिले फेरि जनता समाजवादी पार्टी बनेको छ। तर, धेरैले अशोक राईले तत्कालीन एमाले छाडेर राजनीतिमा किनाराकृत हुँदै गइरहेको टिप्पणी गरिरहेका छन्। तर, यसमा कुनै सत्यता छैन। बरु, अशोक राईले निर्माण गर्न चाहेको वैकल्पिक शक्ति नेपालमा बन्दै गइरहेको छ। र, अशोक राईले देखेका सपनातिर राजनीतिक पार्टी बन्दै गइरहेको छ।

(चामलिङ तत्कालीन संघीय प्रेस युनियनका संस्थापक महासचिव हुनका साथै संघीय प्रेस फोरमका उपाध्यक्ष थिए।)
___________
कभर क्याप्सनः तत्कालीन राष्ट्रपति रामवरण यादवसमक्ष संघीय समाजवादीका तर्फबाट ज्ञापनपत्र बुझाउन जाँदा शितल निवासमा लिइएको हो। तस्विरः सुकदेव चामलिङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार