बलिउड नायक इरफान खानको निधन

  ईनयाँपुस्ता  226 पटक हेरिएको

काठमाडौं : बलिउड नायक इरफान खानको निधन भएको छ। बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा उनको निधन भएको हो। उनी भर्खर ५४ वर्ष प्रवेश गरेका थिए।

उनलाई करिब एक हप्ताअघि कोलोन इन्फेक्सनका कारण अस्पतालको आईसीयुमा राखी उपचार गरिँदै थियो। यहीँ अवस्थामा उनको आमाको चार दिनअघि जयपुरमा देहान्त भएको थियो।

सधैं समाचार लागि Click on 'Like'

फिल्म निर्माता सुजित सरकारले इरफानप्रति श्रद्धाञ्जली दिँदै ट्वीटमा भनेका छन्, ‘मेरो प्रिय मित्र इरफान। तिमीले लड्यौ र लड्यौ र लड्यौ। मलाई तिमीप्रति सधैं गर्व हुनेछ.. हामी फेरि भेटौंला.. सुतापा र बाबिलको लागि संवेदना.. तिमीले पनि लडाई लड्यौ, सुतापा तिमीले यस लडाईमा हरसम्भव मद्दत गर्यौ। शान्ति र ओम शान्ति। इरफान खानलाई सलाम।’

इरफान खान राजस्थानको टोंकस्थित नवाबी परिवारका हुन्। उनको बाल्यकाल टोंकमै बित्यो। उनका आमाबुबा दुवै टोंककै स्थानीय थिए। आज पनि उनका आफन्त र परिवारका अधिकांश सदस्य टोंकमै छन्।

मार्च २०१८ मा इरफान न्युरो इन्डोक्राइन ट्युमरको उपचार गर्न लन्डन गएका थिए। त्यहाँ उनले करिब एक वर्ष उपचारपछि अप्रिल २०१९मा भारत फर्केका थिए।

भारत फर्किएलगत्तै ‘अंग्रेजी मिडियम’का सुटिङ राजस्थानमा सुरु गरे। यो नै उनको अन्तिम फिल्म रह्यो। यस फिल्म गत १३ मार्चमा हल रिलिज गरिएको थियो। तर, लकडाउनका कारण दुई दिनसम्म मात्रै हलमा फिल्म चल्यो।

यद्यपि, उनी बारम्बार लन्डनका चिकित्सकसँग सम्पर्क रहिरहेका थिए। लकडाउन सुरु हुनुअघिसम्म उनी चिकित्सकसँग परामर्श लिन लन्डन जाने÷आउने गर्दथे। तर, पछिल्लो समय डेढ महिनादेखि जारी लकडाउनका कारण सबै अन्तर्राष्ट्रिय उडान रद्द हुँदा उनी मुम्बईबाट बाहिर निस्कन पाएका थिएनन्।

इरफानले ‘मकबुल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लन्च बक्स’, ‘पीकू’, ‘तलबार’ र ‘हिन्दी मिडियम’जस्ता उत्कृष्ट फिल्ममा काम गरेका थिए। उनले ‘हासिल’ (नेगेटिभ रोल), ‘लाइफ इन अ मेट्रो’ (बेस्ट एक्टर), ‘पान सिंह तोमर’ (बेस्ट एक्टर क्रिटिक) र ‘हिन्दी मिडियम’ (बेस्ट एक्टर)मा फिल्मफेयर अवार्डसमेत पाएका थिए।

‘पान सिंह तोमर’मा उनको भूमिकाका लागि नेशनल अवार्डनै दिइएको थियो। यसबाहेक कला क्षेत्रमा उनको अहं योगदानका लागि भारत सरकारले देशकै चौथो ठूलो सम्मान पद्मश्रीसमेत दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार