सम्पादकीय: बुद्धिचालमा बुद्धिहीन नेतृत्व

  ईनयाँपुस्ता  1522 पटक हेरिएको

अहिले कोरोना भाइरस महामारीबाट अछुतो कोही छैन। विश्वका अधिकांश मुलुक यस महामारीबाट प्रभावित छन्। यस्तोमा हरेक देश लकडाउनमा छ। नेपाल पनि लकडाउनमा रहेको करिब दुई महिना पुग्न लागिसक्यो। अहिले नेपाल र अन्य देशहरुबीचको समान अवस्था भनेकै लकडाउनमा रहनु हो।

तर, लकडाउनकै अवस्थामा विश्व चेस महासंघ (फिडे)ले आफ्नो उपस्थितिलाई अझ प्रभावकारी बनाइरहेको छ। सबैखाले खेलकुद गतिविधि ठप्प बनिरहेको बेला फिडेले चेस गतिविधिलाई ठप्प हुन दिएको छैन। फिडेले खेलाडीसहित सर्वसाधारणलाई समय व्यतित गर्न सहज बनाउन लकडाउन केन्द्रीत चेस कार्यक्रम एकपछि अर्को ल्याइरहेको छ। यसमध्ये ‘चेकमेट कोरोनाभाइरस’ फिडेको नवीन कार्यक्रम हो। ‘चेकमेट कोरोनाभाइरस’ विशेषतः अनलाईन केन्द्रीत कार्यक्रम हो। यसमा बच्चादेखि वृद्ध र गैरव्यावसायिक चेस पारखी सहभागी हुन पाउँछन्। यसमा विश्वको जुनसुकै स्थानबाट सहभागिता जनाउन सकिने सुविधा छ। यसमा फिडेले आकर्षक पुरस्कार पनि राखेको छ।

सधैं समाचार लागि Click on 'Like'

अझ फिडेले आफ्ना सदस्य राष्ट्रका संघहरुलाई आर्थिक सहयोगको घोषणासमेत गरेको छ। मुख्यतः यो आर्थिक सहयोग लकडाउन केन्द्रीत छ। फिडेले सदस्य राष्ट्रका संघहरुलाई निवेदन दिन सार्वजनिक अपिल गरिसकेको दुई हप्ता बढी भइसक्यो। तर, नेपाल बुद्धिचाल (चेस) संघ चुपचाप बसिरहेको छ। बुद्धिचाल संघले यसबेला चेस गतिविधिमार्फत् खेलाडीसहित सर्वसाधारणलाई राहत (पुरस्कारसहित समय कटाउने वातावरण निर्माण) दिन सकिने विषयमा सोचेको देखिँदैन।

अहिलेको समयमा प्रविधिको विकास उच्च छ। यस्तोमा भौतिक उपस्थितिबिनै ‘भच्र्युअल’ बैठकमार्फत् निर्णय लिन सकिन्छ। तर, बुद्धिचाल संघले यतातिर ध्यान दिएकै छैन। बरु, बुद्धिचाल संघका प्रमुख पदमा आसिनबीच ‘इगो’को द्वन्द्व देखिन्छ, जुन निन्दनीय हो। किनभने ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं जिम्मेवार पदमा आसिनलाई गर्ने छुट छैन। खेलाडीको अभिभावकत्व निर्वाह गर्ने भूमिकामा रहेकाले आफ्नोमात्रै सोच्नु मूर्खता हो। यसैले बुद्धिचाल संघभित्र देखिएका तमाम् विकृत संस्कार, गैरजिम्मेवारीपन र गैरजवाफदेहीताको अन्त्य अपरिहार्य छ।

साथै, फिडेजस्ता संघबाट सहायता ल्याएर खेल र खेलाडीको हितमा उपयोग गर्न कति पनि ढिलो गर्न हुँदैन। यसले बुद्धिचाल संघको काम पनि देखाउँछ र खेलाडीको करिअर विकासमा पनि मद्दत पुग्दछ। यसपछि मात्रै बुद्धिचाल संघ साँचो अर्थमा चेस खेल र खेलाडीका निम्ति चिन्तित रहेको दर्शाउँदछ। अन्यथा, लकडाउनै कारण बनाई आफूसँगै हरेक गतिविधिलाई कोठामै बन्द गरिदिई रहे आगामी दिनमा बुद्धिचाल संघमाथि औंला ठड्याउनबाट कसैले रोक्न सक्तैन। सँगसँगै बुद्धिचाल संघमा बुद्धिहीनको नेतृत्व रहेको कुरा सिद्ध भइदिन्छ। किनभने यसअघि सामान्य अवस्थामा पनि बुद्धिचाल संघले उत्साहपूर्वक उल्लेखनीय कार्य गरेको देखिँदैन।

यो पनि पढ्नुस्-

लकडाउनः बुद्धिचाल संघलाई ‘के खोज्छन् कानो? आँखा’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार