मनिषा कोईरालामाथि खनिए भारतीय मिडिया, भारतीय च्यानल प्रतिबन्ध लगाउनुपर्ने माग

  ईनयाँपुस्ता  1199 पटक हेरिएको

काठमाडौं : बलिउड इन्डष्ट्रीमा लामो समयदेखि योगदान दिँदै आएकी नेपालीमूलकी नायिका मनिषा कोइरालाको भारतीय मिडियाले खेदो खनेको छ। अहिले भारतीय मिडियाहरुले मनिषा कोइरालाको एउटा ट्वीटको विषयमा खेदो खन्न थालेको हो।

दुई दिनअघि नेपालले नयाँ नक्सा पारित गरेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई मनिषाले रि–ट्विट गरेकी थिइन्। त्यहीँ विषयमा भारतीय मिडियाहरुले उनीमाथि खैरो खन्न थालेको छ।

सधैं समाचार लागि Click on 'Like'

विशेषगरी, मनिषाले रिट्वीट गर्दै लेखेको विषयलाई अनावश्यच रुपमा भारतीय मिडियाले उछालिरहेको छ। उनले रिट्वीटमा लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’

यसपछि भारतीय मिडियालाई ‘के निहुँ पाऊँ कनिका बोकाऊँँ’झैं भएको छ, जसको कारण उनीमाथि त्यहीँ ट्वीटको विषयलाई लिएर नानाथरी आलोचना गरिएको छ। भारतीय टेलिभिजन च्यानल एबीपीले तल्लोस्तरमै उत्रेर सनसनी मच्चाउन खोजिरहेको छ। एबीपीले मनिषालाई चीनपरस्तको फतुरसमेत लगाएको छ।

मनिषाको ट्वीटको विषयमा भारतका सर्वसाधारणले पनि अनेकन टीकाटिप्पणी गरेका छन्। उनीहरुले मनिषालाई सीमाबारे बोलेको विषयमा मुख बन्द गराउन अनेकन कुतर्कको सहारा लिएको देखिन्छ।

भारतीय मिडियाको नेपालमा विरोध सुरु

नेपालबारे अफवाह फैलाउनुका साथै नायिका मनिषाबारे फतुर सार्वजनिक भएपछि नेपालमा भारतीय मिडियाहरुको आलोचनासमेत सुरु भएको छ। पत्रकार मोद ढकालले पैसा तिरेर आफैविरुद्धको समाचार हेर्न बाध्य हुनु परेको अवस्था उल्लेख गर्दै त्यस्ता च्यानल नियमन हुनुपर्ने बताएका छन्।

ढकालले पाकिस्तानमा भारतीय न्युज च्यानलमाथि प्रतिबन्ध लगाइसकेको उदाहरण दिँदै लेखेका छन्, ‘नेपालले भारतीय टेलिभिजन च्यानललाई तत्कालै नियमन गर्नुपर्छ। पाकिस्तानले उहिल्यैबाट भारतीय न्यूज च्यानललाई प्रतिवन्ध लगाएको छ। नेपालले केही मनोरञ्जनात्मकबाहेक सबै च्यानल (फिल्मसमेत) रोकिदिए हुन्छ। पैसा तिरेर आफ्नै विरुद्धको समाचार हेर्न अभिशप्त कहिलेसम्म भैरहने?’

उनले सन् १८९० को पीतपत्रकारिताको अभ्यास भारतीय च्यानलहरुले गरिहेको पनि बताएका छन्। उनले थप भनेका छन्, ‘सन् १८९० को पीतपत्रकारिता अभ्यास गरिरहेका विश्वकै बकवास भारतीय न्यूज च्यानलले अहिले मनिषालाई गाली गरिरहेका छन्। ति फेक मिडियाले सत्य बोल्ने सबैलाई गाली गर्छन्। तर नेपालले पनि अहिलेसम्म क्लिन फीड किन लागु नगरेको होला?’

ढकालको यस स्टाटसमाथि सबैले समर्थनमा प्रतिक्रिया जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार