अतिक्रमित भूमि फिर्ता माग्दै बेलायतबाट नेपालीले पठाए मोदीलाई ज्ञापनपत्र

  ईनयाँपुस्ता  470 पटक हेरिएको

लन्डन : बेलायतमा रहेका विभिन्न नेपाली राजनीतिक दलसम्बद्ध प्रवास कमिटीले भारतीय दूतावासमार्फत् नरेन्द्र मोदीलाई अतिक्रमित नेपाली भूमि फिर्ता गर्न ज्ञापनपत्र बुझाएका छन्। भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी हालै चीनको तिब्बतमा रहेको मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेकोप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाइएको हो।

जनता समाजवादी पार्टीसम्बद्ध नेपाली समाज युके, नेकपासम्बद्ध प्रवासी नेपाली एकता मञ्च युके, नेपाली कांग्रेससम्बद्ध जनसम्पर्क समिति युके, राप्रपासम्बद्ध नेपाली एकता समाजलगायतले संयुक्त रुपमा शुक्रबार बेलायतस्थित भारतीय दुतावासमार्फत् भारतीय सरकारलाई ज्ञापनपत्र हुलाकमार्फत बुझाएका हुन्।

सधैं समाचार लागि Click on 'Like'

संयुक्त ज्ञापनपत्रमा भारतले अतिक्रमण गरेको नेपाली भुमि कालीनदीदेखि पूर्व लिम्पियाधुरासहितको जमिन स–सम्मान नेपाललाई फिर्ता गर्न आग्रह गरिएको नेपाली समाज युकेसम्बद्ध राजेश थापाले जानकारी दिए। उनका अनुसार ज्ञापनपत्रमा नेपाली समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी, जनसम्पर्क समितिका अध्यक्ष युवराज गुरुङले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्र भारतीय हाई कमिसन बेलायत(लन्डन)मार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी पठाइएको छ। पत्रमा कुटनीतिक सम्वादमार्फत् भारतले मिचेको भूमि फिर्ता गर्न आग्रह गर्दै नेपाल र भारतको ऐतिहासिक सम्बन्ध कायम राख्न आग्रह गरिएको छ।

ज्ञापनपत्र पठाउनुअघि नेपालको नयाँ नक्सासहित उपस्थित भएका उनीहरुले संंक्षिप्त सम्बोधन गरेका थिए। चन्द्रबहादुर गुरुङले सुगौली सन्धीअनुसार तत्काल जमिन फिर्ता गर्न आग्रह गरे। उनले देशको सार्वभौमसत्ता बचाउन आफूहरु पार्टी राजनीतिभन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता जनाए।

राजेन्द्र पुडासैनीले अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने बताए। साथै, उनले राष्ट्रियताको सवालमा सबै एकठाउँ रहेको बताए। युवराज गुरुङले सीमा अतिक्रमण कुटनीतिक माध्यमबाट चाँडोभन्दा चाँडो समाधान गर्नुपर्नेमा जोड दिए। उनले मातृभूमि अतिक्रणविरुद्ध बेलायतमै भएपनि राष्ट्रियताका लागि एक ठाउँमा उभिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार