जीवनको पहिलो कमाई २२७ रुपे

  सुकदेव चामलिङ  615 पटक हेरिएको

(गत हप्ताको जारी…)

यहाँ अंग्रेजीको प्रसंग ‘स्किप’ गर्देको छु। पछि कुरा गरुम्ला। पहिले पत्रकारितातिरै फर्किएँ।

सधैं समाचार लागि Click on 'Like'

धरानमा स्थानीयस्तरमै व्यावसायिक पत्रकारिताको प्रयास थालिएथ्यो। यसकै लागि ‘धरान टाइम्स’ प्रकाशन सुरु भएथ्यो। ‘धरान टाइम्स’ले थोरै तर स्ट्रिन्जर(अस्थायी समाचारदाता)लाई नि पैसा दिन्थ्यो।

त्यो दैनिक पत्रिकाथ्यो। त्यसमा म नि जोडिएँ। त्यहीँ स्ट्रिन्जरको रुपमा। समाचार छापिए पैसा चढ्थ्यो। नत्र शुन्य। यद्यपि, त्यो अर्धसाप्ताहिकबाट दैनिकमा मेरो फड्कोथ्यो। त्यो ठूलै उपलब्धीथ्यो। किनभने अर्धसाप्ताहिकमा काम गर्दा नाम आउँथ्यो। तर, अब पैसा नि आउने भो। म गदगद थेँ।

तर, त्यो खुसीमा एउटा अड्चनथ्यो। म अर्धसाप्ताहिकमै थेँ अर्थात् ‘विश्वस्तसूत्र’को सम्वाददाता थेँ। नाम प्रिन्टलाईनमैथ्यो। सम्पादकलाई बिनाजानकारी जाने कुरो भएन। यद्यपि, हिम्मत जुटाएँ। गोपाल दाइ(गोपाल देवान)समक्ष बिन्ति बिसाएँ। उहाँ नै सम्पादक हुनुन्थ्यो।

गज्जब! उहाँले त ‘धरान टाइम्स’ जान पो भन्नुभो। उल्टै दुविधा हटाउँदै थप्नुभो, ‘त्यहाँ राम्रो टिम छ, तिम्ले धेरै सिक्छौ। जाऊ व्यावसायिक नि बन्नुपर्छ।’

गोपाल दाइको जय होस्। म अब फुकिएँ। उप्रान्त उहाँले नै सिकाको ‘५ डब्लु एच’को नयाँ प्रयोग गर्नुथ्यो। त्यसकै लागि दैनिकमा ‘इन्ट्री’ भो। गर्वले छात्ति फुल्यो, अब ‘धरान टाइम्स’को ‘स्पोर्टस् रिपोर्टर’।

स्पोर्टस् रिपोर्टर हुनुको नि कारणथ्यो। म फुटबल खेल्थेँ। स्थानीय क्लबको यु–१४ देखि यु–१७ सम्मको नेतृत्व गरेथेँ। खेलेर नहुने भएछि एकदिन किशोर राई(साथीभाइले बोलाउने नाम ‘बान्टु’)दाइले पत्रकार बन्न प्रेरित गर्नुभो। उहाँले नै गोपाल दाइको अफिस लानु भो। आईकम (ऐलेको प्लस टु) पढ्दै गरेको मलाई गोपाल दाइले काममा लिने हुनुभो। तर, बाँकी छलफल भोलि हुने भो।

यो कुरा घरमा आमालाई भनेँ। आमा खुसी भो, छोराले रोजगार पाएकोमा। त्योभन्दा बढी खुसी त आमालाई छोरा कुलतको संगतबाट छुट्नेमाथ्यो। ‘लोकल डन’बाट रुपान्तरण भएकोमाथ्यो। रिसमा खुकुरी नचाउने छोराले कलम समाउने भो। यस्तै के सोच्यो आमाले। त्यस क्षण आमाको अनुहारमा खुसी छचल्किएथ्यो, जुन शब्दमा व्यक्त गर्न हम्मे छ।

नभन्दै भोलि आयो। दसैंमा सिलाको सर्ट-पेन्ट बाक्साबाट निकालेँ। लगाएँ। पत्रकार बन्ने अन्तर्वार्ता दिन हिँडेँ। गोपाल दाइ छाताचोककै अफिसमा हुनुहुन्थ्यो। के लेख्दै हुनुहुन्थ्यो। पहिले त्यो टुंग्याउनुभो। र, कुराकानी सुरु गर्नुभो। मैले अन्तर्वार्ता सोचेँथेँ। तर, बुढाले सामान्य कुराकानी पो गरे।

कुराकानी क्रममा उहाँले पत्रकारिताको विभिन्न ‘बिट’बारे फेहरिस्त सुनाएँ। म त अक्क न बक्क। त्यो सब मलाई के थाहा? म त पत्रकार बन्न आको नयाँ मान्छे थेँ। तर, खेलकुद बिट नि ‘अप्सन’ आथ्यो। खेलाडी मान्छे खेलकुद नै रोजेँ। त्यहीँ दिन ‘फिक्स’ भो, मैले खेल समाचार लेख्ने। काम मिल्यो। तलब नमिल्ने भो। खाजा खर्च र यातायत खर्चमात्रै अफिसले दिने भो। तरपनि, खुसी भएँ, किनभने स्पोर्टस् रिपोर्टर बन्दैथेँ।

धरानमा म नयाँ स्पोर्टस् रिपोर्टर। मभन्दा सिनियरमा देवराज राई(दाइ)। अलिकति जेठो राजु घिसिङ। देवराज दाइ पछि हङकङ जानु भो। रह्यौं, राजु र म। धरानमा स्पोर्टस्मै लेख्ने हामी दुईमात्रैथ्यौं। राजु कान्तिपुर एफएम र साप्ताहिकमा समाचार पठाउँथे। म विश्वस्तसूत्रहुँदै धरान टाइम्समा लेख्न थालिसकेको थेँ। त्यसबेला धरानमा खुबै प्रतियोगिता हुन्थ्यो। दैनिक समाचार लेख्थेँ। यसले बिस्तारै लेखाईमा हात बस्न थाल्यो। आईडिया आउन थाल्यो। लेख्ने आईडिया ओम दाइ(ओमआस्था राई)ले पनि दिन्थ्यो।

दैनिकमा समाचारसहित बाइलाईन आउँथ्यो। म आफ्नै समाचार दोहोर्याइ–तेहर्याई पढ्थेँ। सम्पादन भएको ठाउँ खुट्याउँथेँ। अर्को समाचारमा गल्ती नदोहोर्याउने प्रयास गर्थे। आखिर सम्पादक निर्ममै हुने रहेछ। जति राम्रो लेखेनि केही त काट्नेनै र’छ। यसरी समाचारमा कैची चलाउनेचाहिँ ओम दाइनै हुन्थ्यो, मलाई खुब रिस उठ्थ्यो। तर, प्रकाशित भएर आउँदा समाचार पढ्दा सललल बग्ने हुन्थ्यो।

एक खेलाडीको प्राफाईल गर्नुपर्ने भो। यो सुझाव ओम दाइकैथ्यो। समाचारमात्रै लेखेको गोल हानेको र खाएको। अब प्रोफाईल कसरी लेख्ने? नो आईडिया। छापिएका खेलाडीको प्रोफाईल खोजेर पढेँ। तर, सोध्ने के? प्रोफाईल गरमात्रै भन्नुभो, तर कसरी गर्ने? यो त पौडी खेल्न नआउनेलाई पोखरीको पिँधबाट ढुंगो टिपेर ल्याऊ भनेजस्तै भो। बडो गाह्रो भो। दुई–तीन दिन त्यतिकै बसेँ। केही लेखिनँ। ओम दाइ भन्थेमात्रै, ‘गयौ/गर्यौ।’

रविन गिरी(दाइ) अफिसमै चुरोटे साथी बनिसकेथ्यो। ऊ पनि पत्रिकाको सहायक सम्पादक। चुरोट तान्दै उसैसँग प्रोफाईल लेख्नेबारे आइडिया मागेँ। उसले जसोजसो सिकायो, त्यहीँत्यहीँ गएर सोधे र आएँ। अनि लेख्न बसेँ। ऐलेजस्तो कम्प्युटरमै लेख्ने चलन थिएन। कम्प्युटर त अपरेटर(डिजाइनर) र सम्पादकले मात्रै चलाउँथे।

कागजमा लेखेको प्रोफाइल। ओम दाइलाई सुम्पिएँ। मलाई छेऊमै राखेर पढ्नु भो। अलिअलि केरमेट गर्दै सच्याउनुभो। बाँकी अल्छी लाग्यो कि के सोच्यो। मलाई सँगसँगै कम्प्युटर अपरेटर रुममा लानु भो। र, आफै टाइप गर्न थाल्नुभो। मैले लेखेको टाइप गरेजस्तो गरेर सररर आफ्नै तालले पो लेख्न थाल्नु भो। बडो अचम्म भो। म मिहेनत गर्ने, मैले लेखेको केही नहुने? रिस उठ्यो। भनिदिएँ, ‘मैले लेखेको त केही छैन त?’

‘तिम्ले लेखेको भएन’, ओम दाइ बोल्यो।

‘कसरी भएन’, अघिपछि नि समाचार काटेको रिसथ्यो र भनेँ, ‘त्यत्रो मिहेनत गरेर लेखेको?’
यति के भनेको ओम दाइ पड्किँन थालिहाल्यो। ओम दाइनि रिसाहा नै हो मान्छे। ओम दाइले रिसाएर जे बोल्यो, त्यो दिशानिर्देशनथ्यो। यसपछि म चुपचाप हेरिरहेँ।

उहाँले मैले लेखेको हरेक प्याराग्राफ सुरुमा पढ्थे। अनि निर्देशनसहित यहाँ यसरी लेख्ने, यस्तो लेख्ने भन्दै आफैले टाईपिङ गर्थे। बडो गज्जब। भाषा उहाँको रिपोर्टिङ मेरो। अनि बाईलाईन नि मेरो। रिस उठे नि खुसी थेँ।

यसपछि प्रोफाईल लेख्न आउन थाल्यो। थप प्रोफाईल पनि गरेँ। अरु प्रोफाईलमा ओम दाइनि सन्तुष्ट देखिनु भो। पहिलेजस्तो बढी पुनर्लेखन गर्नु परेन। भन्नुभो, ‘तिम्रो दिमाग सार्प (तेजिलो) छ। छिटो सिक्छौ। अब अरुको रिपोर्टिङ नि अध्ययन गर।’

यसरी जुध्दै, सिक्दै, पढ्दै, लेख्थेँ। यसरी छापिएको समाचारको मोल सुजित सुब्बा(दाइ)ले तोक्थ्यो। उहाँ पत्रिकाको व्यवस्थापक। एउटा समाचार ३ देखि १५ रुपेसम्म चढ्थ्यो। पहिलो महिनामा २२७ रुपे भएछ। अलिकति लाज अनि हर्षसहित त्यो पैसा बुझेँ। पैसा धेरथोर त्यस्तैथ्यो। जिन्दगीको पहिलो कमाईले बडो आनन्द मिलेथ्यो।

पहिलो कमाईबाट २० रुपेको लड्डु किनेँ। र, आमालाई लगेर दिएँ। आमा पूजापाठ गर्ने मान्छे। लड्डु आमाले नै खाइन् कि गणेशलाई चढाइन्। त्योचाहिँ पत्तो भएन।

तर, ‘धरान टाइम्स’बाटै करिअरले अर्को मोड लियो।

यो पढ्न छुट्यो कि–

फेरि समाचार लेख्न थालेँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार