डोल्पामा जीपले यात्रुसँग मनपरी भाडा असुल्दै

  ईनयाँपुस्ता  460 पटक हेरिएको

सांकेतिक तस्विरः हिमालयन ट्रेक

डोल्पा : डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। जिल्लामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफूखुसी भाडा असुल्न थालेका हुन्।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमिमात्रै छ। तर, जीप भाडा सर्वसाधारणको ढाड सेक्ने छ। लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन्।

सधैं समाचार लागि Click on 'Like'

कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ। सिंहदरबार गाउँगाउँमा भने पनि धेरैजसो कामका लागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारण बताउँछन्।

‘दुनै आउन जान गरेर भाडा मात्रै एक हजार ६ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ’, त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गरे, ‘अरु खाना खाजासहित जोडेर तीन हजार रुपैयाँ खर्च हुन्छ।’ सार्किले तराईका जिल्लामा १५० किलोमिटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आजभोलि १४ किमिमा तिर्नुपर्ने बाध्यता रहेको पनि बताए।

यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दूरी कायम गर्दै तीन जनासम्म नागरिक बोक्न पाउने व्यवस्था गरेको छ। तर, यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै ६ जनासम्म यात्रु ओसार्दै आएका छन्।

सामान्य अवस्थामा जस्तै ६ जनासम्म यात्रु बोकेपनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति ८ सय रुपैयाँ लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे।

लकडाउन हुनुभन्दा अघिसम्म ६ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति ३५० रुपैयाँ कायम गरिए पनि आजभोलि आफूखुसी भाडा उठाउने गरेको उनले बताए।

‘डोल्पाका जीप व्यवसायीलाई नियम कानून केही नलाग्ने रहेछ, ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखेँ’, उनले भने। मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार