ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोना संक्रमण

  एजेन्सी  243 पटक हेरिएको

रियो दि जेनेरियाः ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बोल्सोनारोले मंगलबार ब्राजिलियन टेलिभिजनमा बोल्दै यसको जानकारी दिएका हुन्।

‘सबैलाई थाहा थियो, ढिलोचाँडो यसबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुनेछन्। म पनि पोजेटिभ देखिएको छु’, सोमबार कोभिड–१९ को परीक्षण गराएका उनले भने। सीएनएन ब्राजिलका अनुसार राष्ट्रपतिलाई हाइड्रोसीक्लोरोकिन र एजिथ्रोमाइसिन प्रयोग गरेर उपचार भइरहेको छ।

सधैं समाचार लागि Click on 'Like'

मिडिया रिपोर्टमा उनलाई ज्वरो आएको कुरा छापिएपछि सोमबार राष्ट्रपति भवनबाहिर समर्थकहरुसँग कुराकानी गर्दै आफूले परीक्षण गरेको र फोक्सो सफा रहेको बताएका थिए। मास्क लगाएका उनले मानिसहरुलाई आफ्नो नजिक नआउन सुझाव दिएका थिए।

सोमबार उनलाई कोभिड–१९ को लक्षण देखिन थालेको र १०० डिग्री फेरेन्हाइट ज्वारो पनि देखिएको समाचार प्रकाशित भएको थियो। यसअघि कोरोना भाइरसलाई सामान्य फ्लु बताउँदै आएका बोल्सोनारो र्याली र सार्वजनिक कार्यक्रममा मास्कबिनै सहभागी हुने गरेका थिए।

ब्राजिल अहिले कोरोना भाइरसबाट विश्वमा अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको छ। यहाँ १६ लाख बढी संक्रमित पुगिसेकका छन्। साथै, ६६ हजार बढीको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार