नेपाली चार खेलाडीले रोके सुपर ग्रान्डमास्टर गिरीलाई बराबरीमै

  ईनयाँपुस्ता  845 पटक हेरिएको

काठमाडौं : नेपाली मूलका डच सुपर ग्रान्डमास्टर अनिष गिरीसँग नेपालका चार खेलाडीले बराबरी खेलेका छन्। विश्व वरियताको १०औं स्थानमा रहेका सुपर ग्रान्डमास्टर गिरीसँग नेपालका फिडेमास्टरद्वय क्षितिज भण्डारी र रुपेश जैसवालसँगै सुमित पन्त र महेश थापाले बराबरी खेलेका हुन्।

नेपाली चार खेलाडीले गिरीलाई बराबरीमा रोक्नुलाई उपलब्धीमूलक मानिएको छ। फिडे उपाधिमा दुई स्थान तल तेस्रो वरियताका भण्डारी र जैसवाल छन्। यस्तै, पन्त र थापा गिरीभन्दा ७०० मुनि रेटिङ भएका खेलाडी हुन्।

सधैं समाचार लागि Click on 'Like'

यसअघि विभिन्न समयमा भएका खेलहरुमा नेपाली खेलाडीले ग्रान्डमास्टरसँग बराबरी गरेका भए तापनि सुपर ग्रान्डमास्टरसँग बराबरी खेलेको पहिलो घटना हो।

नेपाल चेस एशोसिएसनको आयोजनामा विहीबार सम्पन्न खेलमा गिरीले नेपालका ३० खेलाडीसँगै एकै समयमा प्रतिस्पर्धा गरेका थिए। जसमा २६ खेल गिरीले जितेका थिए। बाँकी चार खेल बराबरीमा रोकिएका थिए।

गिरीलाई बराबरीमा रोकेका चारै खेलाडीलाई नगदसहित पुरस्कृत गरिने एशोसिएसनका सचिव धरम लामाले जनाए। उनका अनुसार गिरीसँग प्रतिस्पर्धा गर्ने सबै खेलाडीलाई एशोसिएसनले प्रमाणपत्रसमेत दिने छ।

गिरीसँग नेपालका उच्च वरियताका १५सहित राष्ट्रिय च्याम्पियन, दोस्रो र तेस्रो महिला तथा पुरुष खेलाडी सहभागी थिए। उनीहरुसँगै विभिन्न उमेर समूह शीर्ष स्थानका खेलाडीसमेतले गिरीसँग प्रतिस्पर्धा गरेको सचिव लामाले जानकारी दिए।

गिरीका बुबा नेपाली हुन्। उनका आमा रसियन हुन्। गिरीले नेदरल्याण्डको प्रतिनिधित्व गरी विश्व चेसमा प्रतिस्पर्धा गर्दै आइरहेका छन्।

नेपाली खेलाडीको स्तरोन्नतिको लागि गिरीसँग प्रतिस्पर्धा आयोजना गरिएको थियो। खेल चेस डटकम र गिरीको अफिसियल युट्युब च्यानलबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार