भन्सार छलेर भारतीय ट्रकका नेपालमा अवैध धन्दा

छल गरेर भित्रिन्छन् ट्रकमै जडित डिप बोरिङ मेसिन

  ईनयाँपुस्ता  1283 पटक हेरिएको

काठमाडौं : भन्सार छली गरेर करोडौंको मेसिन नेपाल भित्रिने गरेको तथ्य बाहिरिएको छ। बुधबार भारतीय नम्बर प्लेटका दुई ट्रक बर्दिबास प्रहरीले नियन्त्रणमा लिएसँगै यस्तो तथ्य बाहिरिएको छ।

बुधबार बर्दिबासमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ एमएच–३६५५ र एमपी ०९ जीई–९१३१ नियन्त्रणमा लिएको छ। ती दुई ट्रकमा भन्सार छली सिँचाई र खानेपानी प्रयोजन डिप बोरिङमा प्रयोग हुने मेसिन र औजार ल्याएका थिए।

सधैं समाचार लागि Click on 'Like'

यसअघि पनि भारतीय नम्बर प्लेटका ट्रकहरुले करोडौंको भन्सार छलेर नेपाल भित्रिने गरेको भए तापनि कमै मात्र प्रहरीको नजरमा पर्ने गर्थे। तर, बुधबार दुई करोडौंको मेसिन जडित ट्रक प्रहरीले नियन्त्रणमा लिएसँगै भन्सार छलीको तथ्य बाहिरिएको हो।

सामान्यतयाः भारतीय नम्बर प्लेटका ट्रकले गाडीको मात्रै भन्सार तिरेर करोडौं मेसिन नेपाल ल्याएर काम गर्ने गरेको पनि पाइएको छ। यसले गर्दा सिँचाई र खानेपानी क्षेत्रका लागि मेसिन उपलब्ध गराउँदै आइरहेका नेपालकै कम्पनीहरु मारमा पर्ने गरेका छन्।

भन्सार ट्रकको काम मेसिनको

सिँचाई तथा खानेपानी प्रयोजनका लागि नेपाल सरकारले वर्षेनी अरबौं रकम विनियोजन गर्ने गरेको छ। यसका लागि डिप बोरिङ कार्यका लागि आवश्यक मेसिन तथा औजार नेपाली कम्पनीहरुसँगै उपलब्ध छन्।

यद्यपि, भारतमा अत्यन्तै न्यून दरमा काम गर्नुपर्ने भएकाले अधिकांश भारतीय नम्बर प्लेटमा जडान भएका मेसिनहरुको काम गर्ने रोजाई नेपाल भएको छ। यस्ता भारतीय नम्बर प्लेटमा जडित मेसिनहरु भन्सारमा ट्रक भन्सारमात्रै तिरेर मेसिनको भन्सार नतिरी नेपाल प्रवेश गर्ने गरेका छन्।

यसरी भित्रिएका ट्रकहरु निश्चित समयपश्चात फर्किनु पर्ने कानुनी मापदण्ड भए तापनि महिनौं नेपालभित्र भन्सार नतिरी काम गरी बस्ने गरेको समेत खुल्न आएको छ। बुधबार समातिएका दुई भारतीय नम्बर प्लेटका ट्रकमा जडान भएको डीप बोरिंग मेसिनको भन्सार महिनौदेखि नभएको खुल्न आएको छ। उक्त मेसिनले यस वर्ष नेपालमै गैरकानुनी रुपमा बसेर करोडौंको कामसमेत गरेको पाइएको छ।

तर, यस्तै प्रकारका काम गर्ने नेपाली नम्बर प्लेटका मेसिनहरुले वार्षिक रुपमा सरकारलाई लाखौ रुपैयाँ कर बुझाउने गरेको छ। तर, भारतीय नम्बर प्लेटका मेसिनहरुले काम नेपाल सरकारलाई कर हालसम्म बुझाउने गरेको देखिँदैन।

छुटाउन चलखेल

यसरी समातिएका राजश्व छली गरी काम गर्दै आएका भारतीय नम्बर प्लेटका मेसिनहरुले भन्सार एजेन्टमार्फत् चलखेल गरी तुरुन्तै भन्सार बुझाई छुटाउने समेत गरेको पाइएको छ। अहिले समातिएका दुई ट्रकलाई समेत छुटाउन ट्राफिक प्रहरीलाई बर्दिबास नगरपालिकाले चिठ्ठी जारी गरिसकेको पाइएको छ।

तर, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले अवैध रुपमा सञ्चालित भारतीय नम्बर प्लेटका ट्रकमा जडित मेसिन छुटाउन चिठ्ठी जारी गरेको अस्वीकार गरे। यता मेसिनका नेपाली एजेन्टका कर्मचारी सुबोध सिंहले नगरपालिकाले मेसिन छुटाउन चिठ्ठी जारी गरेको जिकिर गरे।

अहिले समातिएका भन्सार फेलसँगै राजस्व छली गरिएका मेसिनहरुले एसियन बोरिङका भारतीय नागरिक बलजित सिंघमार्फत् नेपालमा काम गर्दै आइरहेका छन्। सिंह आफैपनि चितवनमा बसोबास गरिरहेका छन्।

अवैध रुपमा सञ्चालित यसखाले मेसिनबारे उजुरी परेमा पैसाको चलखेलमा उनैले छुटाउँदै आएका छन्। यसपल्ट समातिएका अवैध मेसिनहरु पनि छुटाउन उनी लागि परेका छन्।
_______________
क्याप्सन : भारतीय नम्बर प्लेटका ट्रकमा जडित डिप बोरिङ मेसिन। तस्विरः ईनयाँपुस्ता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार