नेपालमा अनलाईन चेस शृंखला हुने

  ईनयाँपुस्ता  486 पटक हेरिएको

काठमाडौं : नेपालमा अनलाईन चेस शृंखला हुने भएको छ। चेस नेपालको आयोजनामा ‘चेकमेट मेट सिरिज’ हुन लागेको हो।

प्रतियोगिताको पहिलो शृंखला आगामी ३१ जुलाई शुक्रबार (१६ साउन)मा हुने भएको छ। नेपालका चेस खेलाडीहरुबीच प्रतिस्पर्धी भावना विकाससँगै खेल स्तरोन्नतिको लागि प्रतियोगिताको शृंखला आयोजना गरिएको चेस नेपालले जनाएको छ। प्रतियोगितामा सबैखाले खेलाडीले भाग लिन सक्नेछन्।

सधैं समाचार लागि Click on 'Like'

नेपालमा चेस प्रतियोगिता कमैमात्र हुने गरेको छ। यस्तोमा पछिल्लो समय खेलाडीहरु अनलाईनमा आकर्षित भइरहेका छन्। ‘यसैले चेस नेपालले खेलाडीहरुबीच थप प्रतिस्पर्धी भावना विकास गर्न शृंखला आयोजना गरेको छ’, चेस नेपालले भनेको छ, ‘यसले खेलाडीको स्तरोन्नति हुनका साथै एकअर्काको खेलबारे ज्ञान लिन मद्दत पुग्ने छ।’

चेस नेपालले न्युनतम प्रवेश शुल्क लिई विभिन्न समूहका उत्कृष्ट खेलाडीलाई नगदले पुरस्कृत गर्नेछ। अहिले निजी स्रोत र व्यक्तिगत प्रायोजकमार्फत् खेल सञ्चालन गर्ने तयारी गरिरहेको चेस नेपालले भविष्यमा व्यावसायिक प्रायोजकसँग सहकार्य गर्ने योजनासमेत रहेको जनाएको छ। साथै, पुरस्कार राशीसमेत बढाउँदै लाने जनाएको छ।

शृंखलामा सिधैं सहभागी हुन लिंक क्लिक गर्नुस्- चेकमेट मेट सिरिज

के हो चेस नेपाल?

चेस नेपाल विशुद्ध चेस क्षेत्रमा काम गर्न स्थापित संस्था हो। यो गैरनाफामूलक संस्था हो। यसको स्थापना हालै भएको हो र यो कानुनी रुपमा दर्ता प्रक्रियामा छ।

यसले चेससँग सम्बन्धित नेपाली र विदेशी खेल तथा खेलाडीबारे जानकारीमूलक सामग्री उत्पादन गर्नका साथै प्रशिक्षणसमेत सञ्चालन गर्नेछ। यससहित नेपाल चेस एशोसिएसन र अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)सँग समन्वय गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ।

चेस नेपालको आधिकारिक फेसबुक पेज- https://www.facebook.com/ChessInNepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार