मोफसलको पथरीमा ‘नाइट मार्केट’को तयारी

  अर्जुन जम्नेली राई  1706 पटक हेरिएको

मोरङ : राजधानी काठमाडौंबाहिर पथरीमा पहिलो पटक रात्रीकालीन (नाइट मार्केट) लगाउनेबारे तयारी थालिएको छ। मोरङको पथरीशनिश्चरे-१ स्थित पथरी बजारमा रात्रीकालीन बजार (नाइट मार्केट) लगाउने तयारी गरिएको हो।

पथरी बजार सुनसरीको इटहरीदेखि करिब २० किलोमिटर पूर्व र झापा दमकदेखि १३ किलोमिटर पश्चिममा पर्दछ। मुख्य सडकसँग जोडिएको पथरीमा आइतबार र विहीबार बजार लाग्दै आएको छ। पथरी अमरदह, हसन्दह, कानेपोखरी, लेटाङ, जाते मंगलबारे बजारहरुको केन्द्रमा पर्दछ। यी सबै बजारहरु अहिले विकास हुँदै गएपनि पहिला पथरीबाटै उपभोग्य सामग्रीहरु आपूर्ति हुने गर्दथ्यो।

सधैं समाचार लागि Click on 'Like'

पथरीलाई परिस्थितिअनुसार विकास गर्ने उद्देश्यले नगरको १ नम्बर वडा कार्यालयको योजनामा रात्रीकालीन बजार (नाइट मार्केट)को तयारी भइरहेको वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बुले बताए।

पथरीको नगरपालिका लाइनमा प्रदेश सरकारको बजेटबाट असार अन्तिममा करिब ३ सय ५० मिटर सडक नयाँ कालोपत्रेसमेत भएको छ। नयाँ सडकले आकर्षण दिएपछि त्यस दायाँबायाँका घरहरुको रंग आफै मिलेर एउटै कलर बनाउने तयारीमा लागेका छ्न्।

सोही स्थानमा रात्रीकालीन बजार (नाइट मार्केट)को तयारी थालिएको १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले जानकारी दिए। नाइट मार्केटको लागि आवश्यक सुरक्षाको लागि सीसी क्यामेरा, सडकबत्ती (विद्युत), पार्किङलगायत आधारभुत वस्तुहरु जुटाउन योजना निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए।

नाइट मार्केटको लागि पथरीमा घर भएका १ नम्बर प्रदेश मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेत लगायतसँग समन्वय भइरहेको वडा कार्यालयले जनाए। सोही विषयमा वडा अध्यक्षको पहलमा मंगलबार ९साउन १३० नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बैठक बसेर थप निर्णयहरु भएका छन्।

नाइट मार्केट लगाउने तयारी भएको सडकमा खाली ट्रिपर र ट्र्याक्टर हिँडाउन अहिलेदेखि नै निषेध गर्ने, त्यो लाइनमा भएको आलु गोदाम अन्यत्र सार्ने, ठेला व्यापारीलाई व्यवस्थित गर्ने, सडकको नालामाथि पसल राख्न बन्द गर्ने, कार र मोटरसाइकल पार्किङको लागि पथरी उद्योग वाणिज्य संघका अध्यक्ष र वडा अध्यक्षले सम्भावित स्थलको अध्ययन गरेर व्यवस्थित गर्ने, पश्चिम बस स्टेशनलाई पथरी पुल पश्चिम सार्नेलगायत निर्णय गरिएका छन्।

बैठकमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी दिलिपकुमार गिरी, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष धनकुमार तामाङलगायत सहभागी थिए।

पथरीमा रात्रीकालीन बजारको लागि आवश्यक आधारहरु तयार गर्दै के कस्ता सामग्री खरिद बिक्री हुन्छ र बजार सुरु भएपछि अनुशासनबारे समेत अध्ययन गरिने वडा अध्यक्ष लिम्बुले बताए।

काठमाडौंको ठमेलबाहेक रात्रीकालीन बजार त्यति सफल भएको देखिन्न। ठमेल जतिकै व्यस्त नभएपनि ढुक्कले खाने, बस्ने र खरिद बिक्रीको व्यवस्था मिलाउन सके दिनमा आ–आफ्नो काम व्यस्त उपभोक्ताहरुका लागि रातको १०–१२ बजेसम्म बजार लगाउन सकिने सम्भावना देखिन्छ।
____________
क्याप्सन: पथरीबजार प्रवेशिने राजमार्ग र पृष्ठभूमिमा देखिएको पथरीको मुख्यबजार। तस्विरः ईनयाँपुस्ता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार