चेकमेट मेट सिरिजः उपाधि रक्षामा रुपेश चुक्यो, एपीएफका प्रकाश नयाँ च्याम्पियन

  ईनयाँपुस्ता  423 पटक हेरिएको

काठमाडौं : सशस्त्र प्रहरी बल(एपीएफ) क्लबका खेलाडी प्रकाश नेपाल ‘चेकमेट मेट सिरिज’ अनलाईन चेस प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेका छन्। डिफेन्डिङ च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल महत्वपूर्ण अंक बटुल्न चुक्दा एपीएफका प्रकाश च्याम्पियन बन्न सफल भएका हुन्।

शनिबार सम्पन्न चौथो राउण्डको खेलमा डिफेन्डिङ च्याम्पियन रुपेशले धरानका प्रज्वल घिमिरेसँग अंक बाँड्न पुग्दा उनी उपाधि रक्षामा चुके। साथै, सातौं राउण्डको खेलमा च्याम्पियन बनेका एपीएफका प्रकाशसँग रुपेशले अंक गुमाए। यससँगै समग्रमा ९ राउण्डको समाप्तिमा ८ अंक बटुल्दै प्रकाश च्याम्पियन बने।

सधैं समाचार लागि Click on 'Like'

नेपालका कान्छो फिडेमास्टरसमेत रहेका एपीएफकै क्षितिज भण्डारी ७.५ अंक बटुल्दै दोस्रो बन्न सफल भए। उनले आठौं राउण्डको खेलमा सुदीप तामाङसँग अंक गुमाएका थिए। साथै, एक बराबरी खेलेका थिए।

तेस्रो स्थानमा खुम्चिन बाध्य डिफेन्डिङ च्याम्पियन रुपेशले ७ अंक बटुले। उनले दुई बराबरी र एक खेल गुमाएका थिए। र, ६ खेल जितेका थिए।

गोल्डेनगेट कलेजका युवा खेलाडी सुदीप तामाङले ६ अंक बटुल्दै चौथो स्थान कब्जा गर्न सफल भए। उनले दुई हार, दुई बराबरी र पाँच जीत निकालेका थिए। समान ६ अंक जोडेका सुमित पन्त टाइब्रेकमा पछि पर्दै पाँचौ स्थानमा खुम्चिए।

यसैगरी, आशिष फुयाल छैटौं भए। नेपालकै पहिलो फिडेमास्टरसमेत रहेका पूर्वनेपाल च्याम्पियन मनिष हमाल सातौंमा रहे। प्रदेश २ का सुशिल चौधरी आठौं, अर्जुन घिमिरे नवौं र नेपालकै पहिलो महिला फिडेमास्टर सुजना लोहनी दसौं स्थानमा आउन सफल भए।

उत्कृष्ट १५ खेलाडीसहित विभिन्न विधामा पहिलो, दोस्रो र तेस्रो बनेका खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिनेछ। दोस्रो संस्करणको ‘चेकमेट मेट सिरिज’का लागि बुद्धनगरस्थित स्वप्न वाटिका स्कुल र जनता समाजवादी पार्टीका नेता दीपक याक्खाले नगद पुरस्कार प्रायोजन गरेका छन्।

चेस नेपालको आयोजनामा गत ३१ जुलाईमा ‘चेकमेट मेट सिरिज’को पहिलो संस्करण सम्पन्न भएको थियो। तीन पटकको विजेताले नेपालका पहिलो किराती राजा यलम्बरको ट्रफी पाउनेछन्। साथै, प्रतियोगिताको टीसर्ट र थप नगद बोनसस्वरुप पाउनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार