शंकास्पद ८० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ, पथरीमा छायो खुसियाली

  अर्जुन जम्नेली राई  1119 पटक हेरिएको

मोरङ : सम्भावित कोरोना भाइरस संक्रमित ८० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि पथरीशनिश्चरे नगरवासी ढुक्क भएका छन्। पथरीमै बसोबास गर्ने २३ वर्षीय मजदुरमा कोरोना भाइरस पोजेटिभ देखिएपछि ‘कन्ट्रयाक ट्रेसिङ’का आधारमा ८० जनाको स्वाब नमुना संकलन गरी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

उनीहरुको गत ६ भदौंमा स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गरिएको हो। अहिले सबै जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै नगरवासीमा खुसियालीसमेत छाएको छ। यसअघि मंगलबार ७६ जनाको रिपोर्टमात्रै नेगेटिभ आएको थियो। बाँकी ४ जनामा सम्भावित कोरोना भाइरस संक्रमणको आशंका गरिएकामा नगरवासी त्रस्त थिए।

सधैं समाचार लागि Click on 'Like'

चार जनाको स्वाब नमुना पुनः परीक्षण गरिएकामा बुधबार मध्याह्न उनीहरुको रिपोर्ट नेगेटिभ आएको पथरीशनिश्चरे नगरपालिकाका सञ्चार संयोजक भुपेन्द्र तिम्सिनाले जनाए। चार जनाको रिपोर्ट नेगेटिभ आएको खबर फैलिएसँगै नगरमा खुसियाली छाएको छ।

अहिले नगरपालिकाले समुदायस्तरमा भाइरसको संक्रमण नफैलिएको भए तापनि घरैमा बसेर सावधानी अपनाउन आग्रह गरेको छ। नगरपालिकाले केही दिनअघि मजदुरमा कोरोना भाइरस संक्रमण पुस्टि भएपछि अनिश्चितकालीन नगर शीलसमेत गरेको छ।

मलामी जानेलाई तनाव

पथरीशनिश्चरे नगरपालिकाबाट ६ भदौंमा ८० जनाको स्वाब नमुना संकलन गरी पठाइएकोमा ७६ जनाको रिपोर्ट नेगेटिभ आयो। मंगलबार साँझ आएको रिपोर्टमा चार जनामा शंकास्पद कोरोना भाइरस संक्रमण देखियो। यसपछि उनीहरुको स्वाब नमुना पुनः परीक्षणका लागि पठाइयो।

रिपोर्ट आउन बाँकी चारमध्ये एक युवा ८ भदौंमा डाँस खोलामा मलामी गएका थिए। उनी मलामी जाँदा मास्क नलगाई गएका थिए। उनको रिपोर्ट आउन ढिला हुँदा सँगै मलामी गएकाहरुमा तनाव सिर्जना भएको थियो। डाँस खोलामा सय बढी मलामी गएका थिए।

यसैले मलामी गएका युवामा शंकास्पद कोरोना भाइरस संक्रमण देखिँदा मलामी गएका सबै त्रस्त थिए। तर, बुधबार अपराह्न उनको रिपोर्ट नेगेटिभ आएसँगै अहिले सबै ढुक्क छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार