किराविले भन्यो– गोरु काटेकै निहुँमा मान्छे मारिनु साम्प्रदायिक

  ईनयाँपुस्ता  1238 पटक हेरिएको

काठमाडौं : गोरु काटेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिक आलमको प्रहरीको गोली लागि मृत्यु भएको विषयमा किरात राई विद्यार्थी (किरावि) संघले आपत्ती जनाएको छ।

विहीबार किराविका केन्द्रीय अध्यक्ष जितेन राईले विज्ञप्ति जारी गरी गोरु काटेकै निहुँमा मानिसलाई गोली हानी मारिनुले प्रहरीनै साम्प्रदायिक हिंसा भड्काउन उद्दत देखिएको आरोप लगाएका छन्।

सधैं समाचार लागि Click on 'Like'

देशको संविधानमै धर्म निरपेक्षताको साथै बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समाज उल्लेख भएकाले सबैले आफ्नो धर्म संस्कार मान्न पाउने अधिकार सबैलाई रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा मुस्लिम, किरात, मगर, गुरुङ, तामाङ, शेर्पालगायत समुदायले गोरु काटेर भोजन गर्नु उसको साँस्कृतिक अधिकार भएको दाबी गर्दै राज्यले कुण्ठित गर्न नहुने संघले उल्ले गरेको छ।

‘कसैको धार्मिक, साँस्कृतिक अधिकारलाई बाधा हुने नेपालको कानुन संशोधन गरेर स्वतन्त्रता कायम नभए देशमा गम्भीर समस्या आउन सक्छ’, विज्ञप्तिमा भनिएको छ। साथै विज्ञप्तिमा नेपाली समाजको विकास र साम्प्रदायिक सद्भाव कायम गर्न सबै पक्ष लाग्नु पर्ने र निहत्था मुस्लिम युवालाई गोली प्रहार गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने किराविले माग गरेको छ।

देशमा समावेशी, समानुपातिक, धार्मिक, साँस्कृतिक स्वतन्त्रताको विषय उठिरहेको बेला राज्य पक्ष जिम्मेवार नभए साम्प्रदायिक दंगा भड्किन सक्नेतर्फ पनि किराविले सचेत गराएको छ। ‘विज्ञप्तिमा थप भनिएको छ, ‘धार्मिक स्वतन्त्रता घोषित नेपालमा आइन्दा गोरु काटेको मुद्दामा कसैलाई पक्राउ नगर्न र उजुरी गरेर समुदायमा फाटो कसैले ल्याउने दुस्साहस नगरुन्।’

आलमको गैरन्यायिक हत्या भएको भन्दै किराविले घटनालाई ढाकछोप गर्नतिर नलागी निष्पक्ष छानबिन गरी दोषीउपर हदैसम्मको कानुनी कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिसमेत माग गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार