द्वन्द्व पीडित परिवारले फूलको बिरुवा रोपेर सम्झिए आफन्तलाई

  ईनयाँपुस्ता  253 पटक हेरिएको

मोरङ : द्वन्द्व पीडित साझा चौतारी मोरङले आइतबार फूलको बिरुवा रोपेर २९ औं अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाएका छन्। तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको बेला सरकारी पक्षले बेपत्ता बनाएका र सहिद परिवारले यो दिवसको अवसरमा आफन्तहरुलाई सम्झिने गर्दछन्।

द्वन्द्व पीडित साझा चौतारी बेपत्ता तथा सहिद परिवारको साझा संस्था हो। चौतारीको मोरङ जिल्ला संयोजक रिता गिरी, नेकपा मोरङ जिल्ला सदस्य तथा पथरीशनिश्वरे नगर सचिव बालकुमार मगर (विकास), बेपत्ता परिवारका रत्नमाया शाही, हरियाली सबउसका अध्यक्ष काबुलबहादुर मगर, पूर्ण पाख्रीन तामाङलगायतको सहभागितामा दिवस मनाएका हुन्। रिता गिरी द्वन्द्वको बेला सेनाद्वारा पथरीमा मारिएको माओवादी नेता धनन्जय गिरीको पत्नि हुन्।

सधैं समाचार लागि Click on 'Like'

द्वन्द्व पीडित मोरङले पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समूहको परिसरमा फूलको बिरुवा रोप्नुको साथै दीप प्रज्वलन गरेर आफन्तलाई सम्झेका हुन्। उपस्थित बेपत्ता तथा सहिद परिवारले ‘हाम्रा मान्छे कहाँ छन्’, ‘ब्याक्ती बेपत्ता पार्ने कार्यको भत्सर्ना गरौ’ लगायतको नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

चौतारीको केन्द्रीय सदस्य लिला तामाङको नेतृत्वमा बिराटनगरको कोशी अस्पतालमा निर्मित बिश्रामालयमा भेला भएर दीप प्रज्वलन गरी दिवस मनाएका छन्। द्वन्द्व पीडित परिवारले बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न, घाइतेहरुको उपचारको माग गर्दै अन्तर्राष्ट्रिय बेपता दिवस मनाउदै आएका छन्।

अन्तर्राष्ट्रिय दिवसको सुरुआत सन् १९८१ मा कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्था ल्याटिन अमेरिकन फेडेरेसन अफ एसोसिएसन्स फर रिलेटिभ्स अफ डिटेन्ड–डिस्एपियर्ड (फेडेफाम) को पहलबाट भएको हो।

द्वन्द्वको समयमा नागरिक तथा योद्धाहरू बेपत्ता पार्ने गरेको पाइन्छ। बेपत्ताको परिवारमा उनीहरूका आफन्तका बारेमा कुनै पनि जानकारी नपाउँदा पीडित बन्छन्। सशस्त्र द्वन्द्व वा अन्य कुनै पनि अवस्थामा व्यक्ति बेपत्ता पारिनु नहुने अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार