चेकमेट मेट सिरिजः तेस्रो पटकमा एफएम क्षितिज उपाधि चुम्न सफल

  ईनयाँपुस्ता  668 पटक हेरिएको

उपाधि विजेता फिडेमास्टर क्षितिज भण्डारी। फायल तस्विर

काठमाडौं : नेपालकै कठिन र उच्च प्रतिस्पर्धा मानिएको ‘तेस्रो चेकमेट मेट सिरिज’ अनलाईन चेसको उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले चुमेका छन्। अघिल्ला दुई संस्करणमा दोस्रो र तेस्रोमै चित्त बुझाएका एफएम क्षितिज तेस्रो पटकमा उपाधि चुम्न सफल भएका हुन्।

शनिबार साँझ सम्पन्न प्रतियोगितामा क्षितिजले ११ राउन्डको खेलमा ९.५ अंक जोड्दै उपाधि चुम्न सफल भए। चौथो राउन्डको खेल धरानका प्रज्वल घिमिरेसँग गुमाएका क्षितिजले त्यसपछि लगातार जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन्। उनले अन्तिम चरणको खेल पूर्वनेपाल च्याम्पियन सुरवीर लामासँग बराबरी खेले।

सधैं समाचार लागि Click on 'Like'

यसअघि गत ३१ जुलाईमा सम्पन्न सिरिजको पहिलो संस्करणमा क्षितिज तेस्रो भएका थिए। साथै, १५ अगस्टमा भएको दोस्रो संस्करणमा दोस्रो स्थानमै चित्त बुझाएका थिए। तर, ‘ब्लिज’मा नेपालकै अब्बल खेलाडी मानिने क्षितिज तेस्रो संस्करणमा एकल अग्रता लिँदै उपाधि नै चुम्न सफल भए।

यसपटक पनि झापाका खेलाडी राजन सुवेदीले दोस्रोमै चित्त बुझाए। पहिलो संस्करणमा आधा अंकले मात्रै पछि पर्दै उपाधि फिडेमास्टर रुपेश जयसवाललाई सुम्पिन बाध्य राजनको सपना यसपटक पनि अधुरै रह्यो। उनले यसपटक ८.५ अंक बटुलेपनि उपाधि होडमा त्यो पर्याप्त रहेन।

शनिबारको प्रतियोगितामा राजनले १०औं राउन्डको खेलमा क्षितिजमाथि विजय हासिल गर्न नसक्दा उपाधि होडबाट विमुख भएका थिए। राजन पराजित भएसँगै क्षितिजले एक खेल अगावै उपाधिमा कब्जा जमाएको थियो। यता राजनले अन्त्यमा फेरिपनि दोस्रोमै चित्त बुझाउन अन्तिम राउन्डको खेलमा संघर्षपूर्ण जीत निकाल्नु परेको थियो। उनले झापाकै युवा खेलाडी सुश्रत दाहालमाथि संघर्षपूर्ण जीत निकालेका थिए।

तेस्रोमा धरानका प्रज्वल आए। दुई खेल गुमाएका प्रज्वलले ८ अंक बटुल्दै तेस्रो स्थानमा कब्जा जमाएका हुन्। उनले दुई खेल बराबरी गरेका थिए। यस्तै, पूर्वनेपाल च्याम्पियनद्वय मनिष हमाल र सुरवीर लामा क्रमशः चौथो र पाँचौ स्थानमा रहे।

सिरिजको पहिलो संस्करण विजेता रुपेश यसपटक छैटौं स्थानमा खुम्चिए। अनपेक्षित रुपमा लगातार तीन हार व्यहोर्नु पर्दा रुपेश लगातार पछि परेका हुन्। अघिल्ला दुई संस्करणको तुलनामा यसपटक रुपेशले बिर्सनलायक खेल खेले।

यता डिफेन्डिङ च्याम्पियन प्रकाश नेपालले पनि लगातार तीनसहित चार खेल गुमाए। अपेक्षित रुपमा उपाधि रक्षाका लागि उत्रेका प्रकाशले  अनपेक्षित रुपमा आफूभन्दा कमजोर खेलाडीसँग हार्न पुगे। उनी प्रतियोगिताको  दसौं स्थानमा झरे।

चेस नेपालको आयोजनामा सञ्चालित सिरिजको यस पटकको संस्करणमा खेलाडीहरुलाई अनिवार्य रुपमा ‘झुम’ भिडियोमा सहभागी गराइएको थियो। यसपटकको प्रतियोगितामा ७ जना ‘फिडे टाइटल होल्डर’सहित ५७ खेलाडीको सहभागिता थियो, जसमध्ये चार जना फिडेमास्टर र तीन जना क्यान्डिडेट मास्टर थिए।

प्रतियोगितामा खुल्लातर्फ उत्कृष्ट १५ सहित विभिन्न विधाका गरी कुल २७ खेलाडीलाई नगद प्रदान गरिनेछ। यसपटकको विजयी खेलाडीहरुका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव युवराज राई र नेपाल कम्युनिष्ट पार्टीका युवा नेता ओमकृष्ण प्रसाईंले नगद पुरस्कार प्रायोजन गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार