काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिने सरकारले जारी गरेको लकडाउनका कारण दैनिक जीवनमा केही अप्ठ्यारो भए तापनि संयमित भई घरभित्रै रहन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन्।
शुक्रबार साँझ देशबासीको नाममा एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले महामारीको बेला सबैभन्दा जोखिमयुक्त कामगर्ने स्वास्थ्यकर्मी, सम्पूर्ण स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै पक्षको धैर्यताप्रति उनले सम्मान व्यक्त गरेकी छिन्।
उनले कुनै भावनामा नबगी रोगको गम्भीरतालाई मनन गरी कोरोना भाइरसको रोकथाम र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन पनि सम्पूर्ण नागरिलाई अनुरोध पनि गरेकी छिन्। सरकारले कोरोना रोकथामका लागि लकडाउनको घोषणा गरेको सन्दर्भमा राष्ट्रपतिले यस्तो अनुरोध गरेकी हुन्।
उनले संसारका विभिन्न मुलुकमा रहेका नेपालीलाई सुरक्षित रुपमा रहन अनुरोध गर्दै जो जहाँ भएपनि आफ्नो ठाउँबाट कोरोनाविरुद्धको लडाइलाई सफल पार्न सहयोग गर्न समेत अनुरोध गरेकी छिन्।