अमेरिकाबाट पठाइयो ‘किरात प्रदेश’का लागि ज्ञापनपत्र

  ईनयाँपुस्ता  463 पटक हेरिएको

न्युयोर्क । अमेरिकामा रहेका राईहरुले १ नम्बर प्रदेशको नाम ‘किरात’ राख्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासमार्फत् प्रदेशको नामकरण ‘किरात’ लेख्न माग गर्दै प्रदेशका सभामुख र सांसदहरुलाई ज्ञापनपत्र बुझाएका हुन्।

नेपालमा राईहरुको साझा सामाजिक संस्था किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नामकरण गर्दा ‘किरात’ राख्न दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका नेता भेटी ज्ञापनपत्र बुझाउँदै आइरहेको छ। यसै क्रममा यायोक्खासँग सम्बन्धनप्राप्त संस्था युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले पनि महावाणिज्यदूतमार्फत् प्रदेश संसद्लाई ज्ञापनपत्र पठाएको छ।

सधैं समाचार लागि Click on 'Like'

अर्गनाइजेसनका केन्द्रीय सभापति मुना राई नेतृत्वको प्रतिनिधि मण्डलले महावाणिज्यदुत पुष्पराज भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउँदै सभापति राईले उक्त ज्ञापनपत्र यथाशीघ्र सरकारी संयन्त्रमार्फत् प्रदेश १ को संसदमा पुर्याइदिन अनुरोध गरिन्। महावाणिज्यदुत भट्टराईले पनि ज्ञापनपत्र सम्बन्धित निकायमा यथाशक्य चाँडो पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

किरात समुदायको इतिहास, कालखण्ड, भाषा, संस्कार, संस्कृति र सभ्यता समृद्ध नेपाल निर्माणको आधार भएकाले पनि प्रदेशको नाम किरात हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। साथै, ऐतिहासिक ओल्लोकिरात, माँझकिरात र पल्लोकिरातको एकीकृत रुपनै हालको प्रदेश १ को भूगोल रहेकाले पनि किरात प्रदेश नामकरण गर्न उचित हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रतिनिधि मण्डलमा अर्गनाइजेशनका संस्थापक सभापति शिवकुमार राई, पूर्वसभापति मिलन राई, न्युयोर्क च्याप्टरका सभापति केशवराम राई, कोषाध्यक्ष गणेश राई, बिडिओडी सुखराज राई, च्याप्टर सदस्यहरु विवेक राई, तारा राई, अग्नि साम्पाङ, शेखर राई र भीम राई थिए।
—————–
तस्विर सौजन्य: युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार