पत्रकारसहित ९५ जनाको पीसीआर परीक्षण

  ईनयाँपुस्ता  651 पटक हेरिएको

मोरङ : पथरीशनिश्चरे नगरपालिकामा आइतबार जनप्रतिनिधि र पत्रकारसहित ९५ जनाको सम्भावित कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। उनीहरु सबैको सम्भावित कोरोना भाइरस संक्रमण परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको छ।

संघीय संसदीय समितिले वैज्ञानिक वनसम्बन्धी अनुगमनको लागि १७ साउनमा पथरीशनिश्चरेस्थित हरियाली सामुदायिक वनको कार्यालयमा गरिएको कार्यक्रममा सहभागी सबैको थ्रोट स्वाब नमुना परीक्षण गरिएको हो।

सधैं समाचार लागि Click on 'Like'

यसअघि कार्यक्रममा सहभागी हुन आएका डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएका थिए। आफ्नो रिपोर्ट पोजेटिभ आएपछि प्रमुख घिमिरेले आफ्नो फेसबुकमार्फत सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन सूचना जारी गरेका थिए।

प्रमुख घिमिरेको स्टाटस आएपछि पथरीमा एक प्रकारको आतंक भएको थियो। सामाजिक सन्जाल प्रयोग गरी घिमिरेलाई कोरोना हुनु त्यो कार्यक्रममा सहभागी सबैलाई भाइरस भएको जस्तो प्रचार भएको थियो। सोही कारण पथरीमा नगरपालिकाको पहलमा तत्काल पीसीआर परीक्षण गरिएको हो।

वनको कार्यक्रममा सहभागी भएका नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोला, प्रवक्ता यामप्रसाद गुरागाईं, गोबिन्द भण्डारीलगायत वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, पत्रकार अर्जुन जम्नेली राई, सन्तोष राई, मोहन भट्टराई, दिनेश सुब्बा, कुमार खड्का, भूमिप्रसाद पाठक, ईश्वर दुलालको पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीमार्फत स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ।

त्यसैगरी, सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिन, सब डिभिजन वन कार्यालय उर्लाबारीका प्रमुख तारिणी चौधरी, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर लगायतका पदाधिकारी सदस्यहरु, पन्चायत माबिका प्रधानाध्यापक अर्जुन बुढाथोकी, समाजसेबी युवराज बास्कोटा, तुलशी ढकाल लगायत ७५ जनाको स्वाब संकलन भएको हो।

आइतबारै पथरी बहुमुखी क्याम्पसमा स्थित क्वारेन्टिनमा बसेकाहरु मध्ये २० जनाको पनि स्वाब संकलन भएको छ। संकलित स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगरमा ल्याब परीक्षण हुन्छ। वनको कार्यक्रममा लेटाङ नगरमा प्रमुख शंकर राई, शान्ती सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कुलबहादुर गुरुङ लगायत सहभागी भएका थिए।

भाइरस नियन्त्रण गर्न पथरीशनिश्चरे नगरमा २३ साउनदेखि दोस्रो पटक लकडाउन सुरु भएको छ। नगरमा हालसम्म ५ जनामा कोरोना पोजेटिभ देखिए पनि सबैजना निको भई घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार