यायोक्खा बेलायतमा भाँडभैलो, केन्द्रलाई आयो चेतावनी

  ईनयाँपुस्ता  635 पटक हेरिएको

लन्डन : अन्तर्राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा किरात राई यायोक्खा बेलायतमा भाँडभैलो मच्चिएको छ। निर्वाचित अध्यक्ष कल्पना राईलाई बहुसंख्यक कमिटी सदस्यले अविश्वास प्रस्ताव पारित गर्दै जिम्मेवारी मुक्त गरेपछि अहिले भाँडभैलो मच्चिएको हो।

अध्यक्ष राईलाई संस्थाको हितविपरीत जथाभावी कार्य गरेको आरोप लाग्दै आएको थियो। सोही क्रममा बहुमत सदस्यद्धारा गत ७ डिसेम्बरमा उनलाई अविश्वासको प्रस्तावद्धारा तीन महिना निलम्बन गरिएको थियो।

सधैं समाचार लागि Click on 'Like'

यससँगै यायोक्खा बेलायतभित्रको किचलोले पूर्वघोषित ‘किरात राई अन्तर्राष्ट्रिय सम्मेलन’समेत प्रभावित बन्ने निश्चित देखिएको छ। आउँदो मे २४ देखि २६ (११ देखि १३ जेठ २०७७)मा बेलायतमा आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन आन्तरिक किचलोले अन्योलमा परेको छ।

सम्मेलनको व्यवस्थापकीय जिम्मा लिएको यायोक्खा बेलायत संकटग्रस्त रहेको जनाउँदै कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले पत्रकार सम्मेलनमार्फत् सम्मेलन असम्भव रहेको बताएका छन्। ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्ने गरी व्यवस्थापकीय जिम्मेवारी लिएको संस्था किरात राई यायोक्खा बेलायत संकटग्रस्त अवस्थामा छ’, उलने पत्रकार सम्मेलनमा भने, ‘यस्तो अवस्थाबीच सम्मेलन ब्यवस्थापन गर्न सकिंदैन, असम्भव छ र यदि कुनै समूहले गरे पनि असफल वा त्यसको औचित्य नहुने स्पष्ट पार्न चाहन्छौं ।’

उनले संस्था पहिलेकै अवस्थामा नफर्किएसम्म सम्मेलन अनिश्चितकालसम्मका लागि स्थगित गर्न वा अन्यत्र सार्न मातृसंस्था किरात राई यायोक्खालाई आग्रहसमेत गरे।

यायोक्खा बेलायतका उपाध्यक्ष जितेन्द्र साम्पाङले विवाद समाधान पहिले गर्न मातृसंस्थालाई अनुरोध गरे। उनले विवाद समाधान नगरी  बलजफ्ती सम्मेलन गर्न खोजिए परिणाम नराम्रो हुने चेतावनीसमेत दिए।

संस्थामा कार्यवाहक अध्यक्ष राई, उपाध्यक्षहरु सुमनचन्द्र राई, जितेन्द्र साम्पाङ राई, निलम राई, मेजर रिटायर्ड दिलकुमार राई, महासचिव चन्द्रवती राई, उपमहासचिवहरु प्रमिला लाबुङ राई र सनवीर राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई र सावित्री राई, सदस्यहरु राजेन्द्र राई, विनोद राई, गंगाराज राई, भीम राई, सन्देश राई, मिलनचन्द्र राई र रोजी राई, भिमल राईको समूह एकातिर छन्। निलम्बित अध्यक्षका साथमा केहीपदाधिकारी भए तापनि अल्पमतमा छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार