फेरि समाचार लेख्न थालेँ

  सुकदेव चामलिङ  1175 पटक हेरिएको

पत्रकारितामा मेरो पुनरागमन कतिपयले अचम्म मान्छन्। तर, जब फेरि समाचार लेख्न थालेँ, त्यहीँबेलादेखि पत्रकारितामा मेरो पुनरागमन सुरु भो। खासमा साठीको दसकको उत्तराद्र्धतिर। यसबेला समाचार त लेखिनँ तर काठमाडौंका मूलधारका ठूला पत्रिकाहरुमा मेरो लेख छापिन्थ्यो। समाचार त ६९ सालतिर लेख्न सुचारु गरेँ। यसैले नयाँ संगतका लागि अचम्मैथ्यो त्यो। किनभने उनेरुले चिनेको व्यक्ति म रिपोर्टर थिइनँ। उनेरुले चिन्ने म डिजाइनर थिएँ।

कतिपयले अनुमान नि लगाएँ, पत्रिकामा डिजाइन गर्दागर्दै पत्रकार बन्यो त्यो। तर, उल्टोचाहिँथ्यो, रिपोर्टिङ गर्दागर्दै चाहिँ डिजाइनर बनेको थिएँ म। यसको कहानी नि रोचक छ। अनि लामो नि। तर, डम्बर दाइ (डम्बरकृष्ण श्रेष्ठ)को कुराचाहिँ जहिल्यै सम्झिरहन्थेँ। उहाँले भन्नुहुन्थ्यो, ‘अरु डिजाइनरबाट रिपोर्टर बन्छ, तिमी ठीक उल्टो भयौ।’ जे होस्, पत्रकारिताको ऐलेको ‘ट्रेन्ड’सँग ‘एडजस्ट’ हुन लामै कसरत गरेँ।

सधैं समाचार लागि Click on 'Like'

उहिले समाचार स्रोत भेट्न घरघरै पुग्नुपथ्र्यो। स्रोतसँग कुरा गर्दा साहित्यिक र प्राज्ञिक शब्द बोलिन्थ्यो। रिपोर्टरसँग साईकल हुनुनि ठूलो मानिन्थ्यो। अझ रिपोर्टरको साथमा टेप रेकर्डर र डिब्बे क्यामेरा शानथ्यो। फोटो छाप्न रिल कटिङ गर्नुपथ्र्यो। कतिपय त स्रोतको एल्वमबाटै फर्काउने शर्तमा माग्नुपथ्र्यो। पत्रकार भनेसि सट–पाईन्ट लगाउने र एउटा झोला भिर्ने ‘ट्रेन्ड’जस्तैथ्यो। प्रविधिले अहिलेजस्तो काँ सजिलोथ्यो। युट्युबेले यस्ता कुरा बुझे पो त। कार्ड भिरेर बुम तेस्र्याउने बित्तिकै पत्रकार कहलिएका छन्। अन्ट न सन्टको प्रश्न सोध्याछन्।  यसले कार्डको ओजन घटेको छ। प्रेसकार्डको शक्ति कमजोर बनेको छ। यो मेरो ठिम्याई हो।

प्रेसकार्डको शक्तिबारे एउटा घटना सधैं मेरो दिमागमा छ। कुरा ६४ सालतिरको हो। सुन्धाराबाट म कलंकीतर्फ जाँदैथेँ। भोटेबहालमा प्रहरी चेकिङमा परेँ। मसँग मोटरसाइकलको बिलबुक र लाईसेन्स दुवै थिएन। जुन मसँग थिएन, त्यहीँ प्रहरीले माग्यो। म अनकनिएँ। तर, संकटबाट उम्किनुथ्यो। यसैले फ्याट्टै बोली फुट्यो, ‘म पूर्वबाट काम विशेषले काठमाडौं आको हुँ। म पत्रकार हुँ। बिलबुक र लाईसेन्स झोलामै छुटेको छ। लिन जानुपर्छ। नपत्याए कार्ड हेर्नुस्।’

त्यो कार्ड ‘धरान टाइम्स’कोथ्यो। मिति पनि गुज्रेकोथ्यो। किनभने यो दैनिक पत्रिकै ६१ सालतिर बन्द भैसकेकोथ्यो। तर, मैले सोचेभन्दा सहज प्रहरीले छाड्यो। बरु उल्टै सुझाव दियो, ‘नयाँ कार्ड बोक्नुस् मिति सकिएछ।’

‘हवस्’ भन्दै मनमनै गद्गदिँदै त्यहाँबाट निस्केँ। ऐले भा त्यस्तो सहज हुन्थेन। किनभने प्रेसकार्डको दुरुपयोग व्यापक भो। पत्रकारितामा उच्छृंखला पनि देखापर्यो।

अझै ५८–५९ सालतिरको एउटा रिपोर्टिङको सम्झना ताजै छ, अर्धसाप्ताहिक पत्रिकाको लागि दिनदिनै पटनालीमा फुटबल प्रतियोगिताको रिपोर्टिङमा गाको। जाँदा चतराको गाडी उपलब्ध हुन्थ्यो, धरान फर्कदा रात परिसकेको हुन्थ्यो, गाडी पाइन्नथ्यो। जंगलैजंगल हिँडेरै धरान फर्किनुपथ्र्यो। ऐले सम्झिन्छु, अर्धसाप्ताहिकको लागि दैनिक त्यत्रो मेहनत। दैनिक अपडेट हुने त्योभन्दा अर्को उत्तम विकल्प पनि थिएन नि त।

ऐले मोबाइल हातहातमा आइपुगेको छ। हरेकको पहुँचमा छ। सूचना लिन र दिन सहज भाको छ। क्षणभरमै हामी जुनसुकै स्थानबाट अपडेट हुन सक्छौं। ५९–६० सालतिर मोबाइल नेपालीको लागि प्रतिष्ठाथ्यो। सामान्य श्यामश्वेत सेट कम्मरको पेटीमा बाँधेर हिँड्ने मान्छे सम्पन्न मानिन्थे। त्यसबेला भर्खर समाचार लेख्न जान्दै गरेको मजस्तोको लागि मोबाइल आवश्यकताभन्दा विलासिलाथ्यो। देखावटीथ्यो।

तर, पछि ओम दाइ (ओमआस्था राई)ले एउटा घनटाउके मोबाइल सेट र पोस्टपेड सिम निकाल्नुभो। लिन जाँदा म साथी। घनटाउके सेट त्यो बेलाको सबैभन्दा दामी। ऐलेजस्तो सजिलो थिएन घनटाउके सेट लिन नि। जिल्ला प्रशासन कार्यालय मातहतको स्वीकृत चाहिन्थ्यो। सबैको हातहातमा मोबाइल हुँदैनथ्यो। त्यस्तै मोबाइल बोक्ने हुटहुटी कम्ता नभाको हैन। किनभने ओम दाइले कल गर्न दिँदैनथ्यो। दिने अवस्थानि थिएन नि त। संकटकालथ्यो। उमेरले म सानोपनि। अर्थपूर्ण कल गर्ने संगत नि थिएन। भात र खाजा खाएको सोध्न कल गर्न दिने कुरो नि भएन। तर, त्यस्तै मोबाइल बोक्ने चाहना ६२ सालमा मात्रै पूरा भो। त्यो नि एउटा कन्सर्टमा ‘मेरो मोबाइल’ (ऐलेको एनसेल)ले बाँडेको ‘फ्रि’को सिममार्फत्। सिम पाएपछि सेट त लिनैपर्ने भो, त्यसपछि नोकिया ८०० बोक्न थालियो।

सेट बोक्न थालेपछि आफूलाई काठमाडौंको सम्भ्रान्तै ठानियो। यसबेला म काठमाडौं आइसकेको थेँ र उमेर नि त्यस्तैथ्यो, जे मनमा आउँथ्यो, त्यस्तै बन्नुपर्ने। यसपछि फोनमा शानले चर्को बोल्नुपर्ने संस्कृतिमा म नि मिसिन थालेँ। बोल्दा अंग्रेजी शब्द घुसाउन अभ्यस्त हुन थालेँ। किनभने म काठमाडौं बस्न थालेको थिएँ। अझ मोबाइल बोक्ने म पठित र सुसंस्कृत देखिनुथ्यो।

अंग्रेजीको भूत सवार हुनमा नि कारण छ। क्रमशः (बाँकी अर्को हप्ता)

जारी यो लिंकमा-

समाचार लेखेर २२७ रुपे थापेँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार