बढ्यो कोरोना सन्त्रास, सतर्क रहन आह्वान

  ईनयाँपुस्ता  521 पटक हेरिएको

काठमाडौं : कोरोना(कोभिड-१९) भाइरस संक्रमणको आशंकामा आईतबार चार जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ। चारै जनालाई अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड-१९)को आशंकामा उपचार गरिँदैछ।

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार चीनबाट आएका एक र दक्षिण कोरियाबाट आएका तीन जनालाई आईतबार अस्पताल भर्ना गरिएको छ। भर्ना गरिएका चारै जना पुरुष हुन्।

सधैं समाचार लागि Click on 'Like'

हालसम्म २३ जना बिरामीलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखी उपचार गरिएको छ। जसमध्ये १९ जना सकुशल घर फर्किइसकेका छन्।

चीनको वुहान सहरबाट दुई महिनाअघि कोरोना भाइरस फैलिएको हो। र, चीनमा ३ हजार बढीको मृत्यु भइसकेको छ। यस भाइरस अहिले विश्वका ६० बढी मुलुकमा फैलिइसकेको छ।

दक्षिण कोरिया, इरान र इटालीजस्ता देशमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। र, नेपालमा पनि कोरोना भित्रिने उच्च सम्भावना रहेको भन्दै विश्व स्वास्थ्य संगठनले शुक्रबार सचेतसमेत गराइसकेको छ।

सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आईतबार ठूला सभा, सम्मेलन र भोजभतेरको आयोजना नगर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभत्त ढकालले राजधानीमा पत्रकार सम्मेलन गरी धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अपिल गरेका हुन्।

मन्त्री ढकालले आवश्यक परे अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिने पत्रकार सम्मेलनमा बताए। विमानस्थल पूरै बन्द गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ। मन्त्री ढकालले भने, ‘छिमेकी देशहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्नेबारे छलफल गरिरहेका छौ ।’

उनले नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिएको समेत जनाए। उनले संक्रमितलाई राख्नका लागि बेडको व्यवस्थासमेत गरिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार